9844698505
Follow Us On :

स्टारका प्रणय

 

सारा–कार्तिक

अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म ‘लभ आजकल’ भ्यालेन्टाइन्स डेका दिन रिलिज हुनेछ। पहिलो पटक यो जोडी पर्दामा सँगै देखिनेछ। सार्वजनिक रूपमा सारा र कार्तिकले स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको समाचार बेला–बेला आउने गरेका छन्। प्रेमको मात्र नभई केही समयअघि त उनीहरूको ब्रेकअपसमेत भइसकेको समाचार आएको थियो। तर, यो जोडीले न प्रेमबारे मुख खोलेको छ, ब्रेकअपबारे। फिल्म ‘लभ आजकल’ को प्रमोसनका क्रममा उनीहरूले प्रेम दिवस सँगै फिल्म हेरेर मनाउने बताएका छन्। ‘हामी सँगै फिल्म हेर्न जानेछौँ,’ कार्तिकले प्रमोसनमा भनेका थिए, ‘हामी आफ्नै फिल्म हेर्नेछौँ।’

सनी–डेनियल

 

अभिनेत्री सनी लियोनले आफ्ना श्रीमान् डेनियल वेबर र तीन सन्तानसँग प्रेम दिवस मनाउने छिन्। भारतीय मिडियासँग कुराकानी गर्दै सनी र डेनियलले आफ्नो प्रेम दिवसको योजना सुनाएका छन्। ‘भ्यालेन्टाइन्स डे मनाउन हामी एकदमै उत्साहित छौँ,’ डेनियलले भनेका छन्, ‘त्यसका लागि विशेष तयारी पनि गरिरहेका छौँ।’ त्यस दिन आफूहरू रोमान्टिक डिनर डेटमा जाने उनीहरूले बताएका छन्। ‘म ढाका जाँदै छु,’ डेनियलले भने, ‘त्यसै दिन फर्किनेछु। त्यसपछि सनीसँग रात्रिभोजका लागि बाहिर जानेछु। बाँकी समय बच्चाहरूसँग बिताउनेछु।’

‘दिनको पहिलो भाग आफ्ना सन्तानसँग बिताउनेछु,’ सनीले भनेकी छिन्, ‘त्यसपछि श्रीमान्सँग रोमान्टिक डिनरमा जानेछु।’

दीपिका–रणवीर

लामो समयको प्रेम सम्बन्धपछि गत वर्ष लगनगाँठो कसेका दीपिका पादुकोण र रणवीर सिंहले पनि भ्यालेन्टाइन्स डेलाई विशेष बनाउने भएका छन्। त्यसका लागि उनीहरू विदेश पुगिसकेका छन्। आफ्नो इन्स्टाग्राममा दीपिकाले दुई वटा पासपोर्टको फोटो पोस्ट गरेकी थिइन्। क्याप्सन राखेकी थिइन्– ‘हिज एन्ड हर’। आफू कहाँ गइरहेको नखुलाए पनि बोर्डिङ पासमा ‘यूएल १४२’ लेखिएको थियो। यसबाट उनी श्रीलंकाको राजधानी कोलेम्बो गइरहेको धेरैले अनुमान लगाएका थिए। त्यसपछि उनले समुद्र किनारमा दुई जोर चप्पलको तस्बिर सेयर गरेकी छिन्। लेखेकी छिन्– ‘मलाई बाटो देखाउनका लागि सधैँ तिम्रो साथमा रहनेछु।’

कामको व्यस्तताले दीपिका र रणवीरले एकअर्कालाई समय दिन सकिरहेका थिएनन्। भ्यालेन्टाइन्स डेको अवसरमा उनीहरू क्वालिटी टाइम बिताउन बिदामा गएको बलिउडकर्मीले बताएका छन्।

नेहा–आदित्य

बलिउडकी प्रसिद्ध गायिका नेहा कक्कड र गायक आदित्यनारायण झाले यसपालिको भ्यालेन्टाइन्स डेमा लगनगाँठो कस्ने भएका छन्। उनीहरूको प्रेमकथा भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण हुने गायन रियालिटी सो ‘इन्डियन आइडल ११’ को सेटबाट सुरु भएको हो। नेहा सोमा जज छिन् भने आदित्य कार्यक्रम होस्ट गर्छन्। केही समययता उनीहरूको बिहेको हल्ला चलिरहेको थियो। हालै आदित्य र नेहाका अभिभावक आइडलको सेटमा पुगेका थिए। सोमा गायक उदितनारायण झाले नेहालाई आफ्नो बुहारी बनाउने इच्छा व्यक्त गरेका थिए। जसमा नेहाका आमाबुबाले सहमति जनाएका थिए। केही दिनअघि नेहाले इन्डियन आइडलको प्रोमो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन्। क्याप्सन लेखेकी थिइन्– ‘नेहूको बिहे आदिसँग आमाबुबाले गराइछाड्नेछन्। आदि र मेरो बिहे।’